सुनसरी—सुनसरीको भरौलमा आयोजना गर्न लागिएको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भरौल भेट्रान कप फुटबल प्रतियोगिता राजनीतिक दबाबका कारण दुई दिन पर सारिएको छ। सत्तारुढ नेकपा (एमाले)का नेताहरूको दबाबले प्रतियोगिताको उद्घाटनको मिति परिवर्तन गर्नुपरेको आयोजक भरौल भेट्रान क्लबले जनाएको छ।


प्रतियोगिताको उद्घाटन एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले गर्ने तय गरिएको थियो। रावल ‘मातृभूमि जागरण अभियान’ मार्फत एमालेको आलोचना गरिरहेका छन्, जसका कारण उनको सहभागीता विवादास्पद ठहर भएको बताइएको छ। आयोजक क्लबका अध्यक्ष विमल कार्कीले रावलको सहभागीता कारणले एमाले नेताहरूबाट दबाब आएको स्वीकारेका छन्।
अध्यक्ष कार्की पूर्वराष्ट्रिय खेलाडी हुन् । ‘एमालेका साथीहरूले धेरै दबाब दिए । खेलकुदको उद्घाटनमा विवाद किन गर्नु भनेर हामीले पनि मानिदियौं । हामीले कुनै आमसभा त गरेको होइन । नबुझेपछि के लाग्छ र ?,’ उनले भने ।

दोस्रो तर्फ, क्लबका सचिव अधिकलाल चौधरीले मैदानमा धेरै पानी पटाएका कारण खेल खेलाउन नसकिएको दाबी गरेका छन्। यद्यपि, राजनीतिक कारण प्रमुख भएको स्रोतले संकेत गरेको छ।
एमालेका स्थानीय नेताहरूले भने आयोजकमाथि कुनै दबाब नदिएको र कार्यक्रम सार्ने निर्णय स्वतन्त्र रहेको दाबी गरेका छन्।
रावल फुटबल उद्घाटन गर्न भनेर शनिबार दिउँसो भरौल आइपुगेका थिए । तर, उद्घाटन रोकिएपछि उनी त्यत्तिकै फर्किएका छन् ।
आजै दिउसो विराटनगर आएका रावललाई विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
उनलाई नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमसहितका नेता कार्यकर्ता तथा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ महाअभियानका संस्थापक केन्द्रीय सदस्य सतिश पोखरेललगायतले विमानस्थलमा स्वागत गरेका थिए ।