काठमाडौं—नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा तीन नेताहरूलाई गरिएको कारबाहीको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। भीम रावल, बिन्दा पाण्डे, र उषाकिरण तिम्सिनालाई गरिएको कारबाही सच्याउनुपर्ने माग बैठकमा उठेको हो  ।

आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू झपड रावल र प्रकाश शाहले यो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए । “सचिवालय बैठकको निर्णय तत्काल सच्याउनुपर्छ । कारबाहीको निर्णय पार्टी र आन्दोलनको हितमा छैन । यसले क्षति पुर्‍याउँछ,” रावलले बैठकमा भनेका छन् ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । भोलिको बैठकमा पनि नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ । धारणा राख्नुअघि नै सचिवालय बैठकको निर्णय अनुमोदन गरिएको थियो ।