विराटनगर—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ। तिमिल्सिनाले साधारण सदस्यबाट निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुनःस्थापना गर्न माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेपछि उनलाई निलम्बन गरिएको हो।
पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले तिमिल्सिनाविरुद्ध अनुसन्धान आवश्यक रहेको भन्दै उनलाई निलम्बन गरिएको पत्र पठाएका छन्। पत्रमा अनुशासन आयोगको नियमावलीको आधारमा उनलाई कोशी प्रदेश सभापतिबाट अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको उल्लेख छ।
पार्टीको कोशी प्रदेश समितिको बैठकमा कोरम नपुगेर तिमिल्सिनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन नसकिएको थियो। ६२ सदस्यीय समितिमा मात्र १३ जना उपस्थित भएपछि बैठक असफल भएको थियो। बैठकमा सहभागी नभएका सदस्यहरूले तिमिल्सिनाको अभिव्यक्तिको पक्षमा आफूहरू उभिएको बताएका छन्।
तिमिल्सिनाले पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा पुनःस्थापित गर्नुपर्ने अभिव्यक्ति दिएपछि यो विवाद उत्पन्न भएको हो। अनुशासन आयोगले उक्त अभिव्यक्तिको आधारमा तिमिल्सिनासँग स्पष्टीकरण मागेको थियो।
गणपूरक संख्या नपुगेपछि अनुशासन आयोगले बैठकको निर्णयविना नै तिमिल्सिनालाई निलम्बन गरेको हो। आयोगले अब तिमिल्सिनाविरुद्ध थप अनुसन्धान अघि बढाउने जनाएको छ।




















