काठमाडौं—नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पूरानो दल एमालेमा फर्किन तयारीमा छन्। गौतमले आज वा भोलिभित्रै एमालेमा प्रवेश गर्ने बताइएको छ। 

 २०७८ सालमा एमाले छाडेर स्वतन्त्र भूमिकामा रहेका गौतमको पुनरागमनले राष्ट्रिय सभामा एमालेको संख्यात्मक र राजनीतिक बलियो उपस्थिति हुनेछ।

गौतम ६ वर्षका लागि राष्ट्रिय सभामा मनोनीत सांसद भए पनि एमालेसँगको दूरी र स्वतन्त्र गतिविधिले उनको राजनीतिक भविष्यमा विभिन्न अड्कलबाजी भइरहेका थिए। अब उनले एमालेमा फर्किएपछि राष्ट्रिय सभामा एमालेका सांसदहरूको संख्या १२ पुग्नेछ, जसले पार्टीको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। हाल उनीसहित डा. अञ्जान शाक्य पनि एमालेबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

राष्ट्रिय सभामा एमालेका वर्तमान ११ सांसदहरूमा गौतमको पुनरागमनले थप ऊर्जा र रणनीतिक बल पुर्‍याउने देखिन्छ। यसले पार्टीभित्रको संगठनात्मक एकतालाई पनि सुदृढ पार्न सक्ने सम्भावना छ। आगामी दिनमा गौतमको भूमिकाले एमालेको राजनीतिक यात्रा कस्तो दिशा लिन्छ भन्ने विषय चासोको बिषय रहनेछ।

एमालेका अन्य राष्ट्रिय सभा सांसदहरूमा विमला घिमिरे (उपाध्यक्ष), इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, रुक्मिनी कोइराला, शारदादेवी भट्ट, सुमित्रा विसी र सोनाम ग्याल्जे शेर्पा रहेका छन्।