बुटवल —नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वका सक्षम नेताहरूको सूचीमा पर्ने दाबी गरेका छन्।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माविको हिरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले ओलीलाई जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको नेता भन्दै सरकारको कार्यशैली परिणाममुखी हुने बताए।

"प्रधानमन्त्री केपी शर्मा ओली उत्कृष्ट राजनेता हो। उहाँ विश्वका सक्षम नेताहरूमध्येमा पर्नुहुन्छ, पौडेलले भने,  ‘ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको टेस्टेड लिडर हुनुहुन्छ, यस्तो नेताको नेतृत्वमा बनेको सरकारले परिणाम दिनेगरी ढुक्कसँग चल्छ ।’

देशमा राजनीतिक स्थायित्व दिन नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेको तर्क उनले गरे । साथै, उनले विकास र सुशासनमा केन्द्रित रहेर अहिलेको सरकारले काम गरिरहेको पनि बताए ।

‘सरकार विकास र सुशासनमा केन्द्रित रहेर काम गरेको छ, विगतका सरकारले गरेका बेतिथिलाई पन्छाउँदै नागरिकका निराशालाई आशामा बदलेर भौतिक र मानवीय विकासमा केन्द्रित छ’, उनको दाबी थियो ।

अर्थमन्त्री पौडेलले रूपन्देहीको तिलोत्तमामा प्रस्तावित बुटवल मेडिकल कलेज अब बन्ने पालो आएको पनि बताएका छन् ।

‘अघिल्लो सरकारको शिक्षामन्त्री सुमना श्रेष्ठले मेडिकल कलेज खारेज गर्ने कोशिस गर्नुभएको थियो, त्यसलाई खारेज गर्नबाट रोकिएको छ, अब डीपीआर सकिएपछि पूर्वाधार निर्माणको काम अघि बढछ,’ उपप्रधानमन्त्री पौडेलले भने ।