काठमाडौं—‘सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताएका छन् । आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा कुण्ठा पोखेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ ? भन्दै प्रश्न गरे । उनले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताए ।
उनले भने, ‘बढो रमाइलो दृश्य हाम्रो संसदमा देखिँदा अत्याधिक खुशी लागेको छ । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङठ्याङ आज मिलेको देखियो यो वास्तवमै रमाइलो छ । आज प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भाषण निकै ध्यानपूर्वक सुनें ।’
सहकारीको पैसा खातामा तान्ने भनेर उनले रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका हुन् । बिहीबार संसद्मा विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका थिए । प्रचण्डले रविको समर्थन गर्दा रास्वपा सांसदले ताली बजाएका थिए ।
उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । तर ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको छ । तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा भाषण सुनेर बस्ने देशवासीलाई यो प्रमुख प्रतिपक्ष दलको नेताले भनेको ठिक छ भन्ने होस् न ।’




















