काठमाडौं—नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध विभिन्न खालका भ्रामक प्रचार भइरहेको बताएका छन्। उनले सत्ता समीकरणलाई कमजोर बनाउन गरिएका यस्ता प्रयासहरू असफल हुने दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले कांग्रेस र एमालेबीचको सहकार्य कुनै रहर नभई, राजनीतिक परिस्थितिको अपरिहार्य उपज भएको बताएका छन्। उनले दुई ठूला राजनीतिक दलबीचको यो सहकार्यले केही तत्त्वहरूलाई विचलित बनाएको र ती शक्तिहरूले भ्रम र अफवाह फैलाइरहेको आरोप लगाए।
"७ बुँदे सहमतिको आधारमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यविरुद्ध अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन्। उनीहरूले सत्ता समीकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन। हुन दिइने छैन, किनकि सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो," पोखरेलले उल्लेख गरेका छन्।
उनको यो अभिव्यक्तिले सत्ता समीकरणलाई बलियो बनाउने प्रयास गर्दै विपक्षीहरूद्वारा फैलाइएका भ्रमहरूको खण्डन गर्ने उद्देश्य बोकेको देखिन्छ।




















