काठमाडौं—नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिबाट लिँदै आएको लेबी रकम घटाउने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनप्रतिनिधिबाट लिँदै आएको लेबी घटाउने निर्णय लिएको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरू प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा वडाध्यक्षहरूको लेबी घटाउने निर्णय भएको समितिका सदस्य प्रकाश रसाइलीले जानकारी दिए ।’यसअघि लिँदै आएको शुल्कमा आधा घटाउने निर्णय भएको छ,’ उनले भने ।

उक्त निर्णय अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखले पारिश्रमिकको २० प्रतिशत लेबी तिर्दै आएकोमा अब १० प्रतिशत मात्रै बुझाउनुपर्नेछ । यस्तै वडाध्यक्षहरूले १० प्रतिशत तिर्दै आएको ५ प्रतिशत मात्रै बुझाउनुपर्ने छ ।

क्रियाशील सदस्यता नवीकरणको शुल्क दुई सय रूपैयाँ तोकिएको छ । काङ्ग्रेसले क्रियाशील सदस्यता विवादको अनुगमनका लागि प्रदेश कमिटीलाई जिम्मेवारी दिने भएको छ । यसअघि केन्द्रबाट मात्रै अनुगमन हुँदै आएकोमा काङ्ग्रेसले प्रदेश कमिटीलाई जिम्मेवारी दिएको हो ।