विराटनगर—नेकपा एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनबाट चयन गरिने ९१ सदस्यीय कमिटीका सात पदाधिकारीका लागि २१ जनाले उम्मेदवारी दिएका छन्। विराटनगरस्थित होटल मनास्लुमा मंगलबार सुरू भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका लागि निर्वतमान् बनेका चन्द्रवीर राईसहित डा.उद्वव पोखरेल,लक्ष्मीकुमार श्रेष्ठ, हितबहादुर थापा, दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्षमा मनोनयन दर्ता गरेका पोखरेल निवर्तमान कमिटीका उपाध्यक्ष हुन् । त्यस्तै ढकाल, श्रेष्ठ र घिमिरे प्रदेश कमिटी सदस्य रहेका छन् । सुवेदी, सुब्बा र डाँगी भने जिल्ला कमिटी सदस्य हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका थापा भने कानेपोखरी गाउँ कमिटीका अध्यक्ष रहेको जनाइएको छ ।

 ९ जना आकांक्षी मध्ये पोखरेलको अध्यक्ष बन्ने सम्भावना बलियो देखिएको छ । ९ जना आकांक्षी मध्ये पोखरेलको अध्यक्ष बन्ने सम्भावना बलियो देखिएको छ । अहिलेको परिस्थितिमा मोरङमा पार्टीको नेतृत्व हाक्न पोखरेलको नै आवश्यक रहेको धेरै जस्तो प्रतिनिधिहरुको चाहना रहेको बुझिएको छ । 

दुई उपाध्यक्ष पदका लागि भुपाल बस्नेत, वीरेन्द्र यादव, डिबी थापा र सुमित्रा राईले उम्मेदवारी दिएका छन् । एक सचिव पदका लागि प्रेमराज भारती, तुलसी ढकाल र साइमन रेग्मीको मनोनयन दर्ता भएको जनाइएको छ ।

सचिव पदमा उम्मेदवारी दिएका भारती चर्चित युवा नेता हुन् ।  विद्यार्थी राजनितिबाट उदाएका उनि पादाधिकारीमा आकांक्षी मध्ये कान्छा उमेरका हुन् । उनी  पार्टीका काममा बढि समयदिने भएकाले यस्तै युवा चाहिएको पथरीबाट आएका एक प्रतिनिधिले बताए । ढकाल पनि सचिवमा चयन भएमा पार्टीका लागि ठिकै हुने ती प्रतिनिधिले बताए । रेग्मीको भने रहर मात्र हुन् सक्छ,उहाँ सचिव पदकालागि अहिले नै उपयुक्त देखिदैन' उनले भने ।"

त्यस्तै दुई उप-सचिवका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सन्तोष लिम्बू, मोहन पोखरेल, भवानी धमला, राधाकृष्ण पोखरेल र चन्द्र शर्मा पराजुली उप-सचिवका उम्मेदवार हुन् । लिम्बू सकुना क्याम्पसका निवर्तमान स्ववियु सभापतिहुन् । 

अनेरास्ववियूका नेता समेत रहेका लिम्बू युवा पनि हुन् र समावेसिका कारण उप-सचिवका लागि आवश्यक रहेको धेरै जसो प्रतिनिधिहरुबाट बुझिएको छ ।

निर्वाचन कमिटीले अध्यक्षसहित पदाधिकारीका लागि मनोनयन शुल्क वापत एक हजार रूपैयाँ र सदस्य पदमा पाँच सय रूपैयाँ तोकेको थियो । पदाधिकारीमा धेरै उम्मेदवारी परेपछि नेतृत्व व्यवस्थापनका लागि केन्द्रीय कमिटीका नेतादेखि जिल्लास्थित नेताहरू खटिएका छन्

अध्यक्ष पदका लागि पोखरेल र ढकालबीच सहमति भए निवर्तमान अध्यक्ष राईले मैदान छाड्ने जनाइएको छ । तर दुवै पक्षले आफू निकट केहीलाई अध्यक्ष पदमै मनोनयन दर्ता गर्न उकासेको भन्दै राईले पनि उम्मेदवारी कायमै राखेर अघि बढ्‌ने भन्दै दबाब बढाएका छन् ।

जिल्ला कमिटीमा प्रत्येक निर्वाचन क्षेत्रबाट ६ जनाको दरले प्रतिनिधित्व हुने जनाइएको छ । त्यसबाहेक विभिन्न क्लष्टरबाट जिल्ला कमिटी सदस्य चयन हुने केन्द्रीय कमिटी सदस्य निलम ढुंगेलले बताइन् ।

जिल्ला अधिवेशनमा २ सय ३ सदस्यीय आयोजक कमिटी र २ सय ३३ जना प्रतिनिधिसहित ४ सय ३६ जना कूल प्रतिनिधि रहेका छन् ।