काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन दिने प्रवृत्ति त्याग्न आग्रह गर्दै समाधानमा केन्द्रित हुन चेतावनी दिएकी छिन्।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत (सीएओ) सरोज गुरागाईं हाजिर हुन महानगरको कार्यालय पुगेका थिए। तर, नगर प्रहरीले उनलाई रोक्न खोजेपछि विवाद उत्पन्न भएको थियो। सो क्रममा केही कर्मचारीले कार्यकक्षको प्रवेशद्वारमा तोडफोड गरेका थिए।

घटनापछि उपमेयर डंगोलसहितको आकस्मिक बैठक बसेको छ। बैठकमा उनले घटनाक्रमबारे पूर्ण जानकारी रहेको बताउँदै यस्ता झडप र द्वन्द्व संस्थाभित्र हुनु अशोभनीय रहेको बताइन्।

डंगोलले मेयर बालेन शाहको अप्रत्यक्ष आलोचना गर्दै भनिन्,‘निर्देशन होइन, समाधान चाहिन्छ’"मन्त्रालयबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आउँदा यस्तो झडप हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि उचित होइन।"

उनले संस्थाभित्र मनमुटाव रहनु नहुने बताउँदै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भए मात्र कारबाही गरिनुपर्ने स्पष्ट गरिन्।

"यो तमासा हामीले हेर्नुपर्ने? यदि यो मेयरको आदेश हो भने उनी आफैं अघि आउनुपर्छ। होइन भने, कोठामा बसेर आदेश दिन पाइँदैन।"

उनले अहिलेको समस्या समाधान गरेर मात्रै बोर्ड बैठक बस्ने बताउँदै तत्काल शान्ति स्थापनाको पहल गर्नुपर्ने धारणा राखिन्।