• टिकाराज ढकाल

आज एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को गतिविधिहरू हेर्दा एउटा गम्भीर प्रश्नउठिरहेको छ- के एनआरएनए अझै पनि एक स्वतन्त्र, गैर-राजनीतिक, सामाजिक  संस्था हो? अथवा यो बिस्तारै नेपाली राजनीतिक दलहरूको भगिनी संस्थामा परिणत हुँदैछ?

विश्वभर छरिएका नेपालीहरूलाई एउटै सञ्जालमा एकताबद्ध गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको अधिकार, हित र योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एनआरएनएको स्थापना भएको थियो। पछिल्लो समयमा, संगठन भित्र गहिरो राजनीतिक प्रभाव, गुटबन्दी र विशेष दलहरूको पक्षपात देखिन थालेको छ।

एनआरएनएको स्थापना मूलतः विश्वभर छरिएका नेपालीहरूलाई एउटै सञ्जालमा बाँध्ने, उनीहरूको हक, हित र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले भएको हो। तर, पछिल्लो समय, संगठनभित्र गहिरो राजनीतिक प्रभाव, गुटबन्दी, र दल विशेषको पक्षपोषण देखिन थालेको छ।

“जे पनि सम्भव छ” भन्ने आत्मविश्वास – कता पुग्दैछ?

यति धेरै आत्मविश्वास — कि “हामीले जे गरे पनि हुन्छ” भन्ने सोच — संस्था सञ्चालनको मूल मर्मसँगै कानुनी सीमालाई समेत चुनौती दिइरहेको छ। विचार नमिल्दा नयाँ संस्था खोल्नु कानुनी रूपमा गलत होइन, तर उद्देश्य भने सेवामूलक र पारदर्शी हुनुपर्छ।

यदि आज एनआरएनएमा कांग्रेस र एमालेका पक्षधरहरू मात्र अगाडि देखिन्छन् भने, प्रश्न उठ्छ: माओवादी, राप्रपा, जसपा वा अन्य दल समर्थक एनआरएनहरु कहाँ छन् ? यदि तिनीहरू पनि सक्रिय भए भने, के अर्को–तेस्रो एनआरएनए खुल्ने हो? कि यो कुनै नयाँ ‘संस्कार’ हो, जसमा क्रमशः सबै दलको ‘एनआरएनएशाखा’ बन्नेछ?

संस्था कि गैरकानुनी राजनीतिक प्लेटफर्म?

एनआरएनए एक सामाजिक संस्था हो - कानुनी रूपमा यो कुनै पनि राजनीतिक दलको भातृसंस्था हुन सक्दैन। यदि प्रमाणित भयो कि एनआरएनए आइसीसी कुनै दल विशेषको निर्देशनमा चलेको छ, वा संस्थाले चुनावमा उम्मेदवारलाई सहयोग गरेको छ भने, त्यो प्रत्यक्ष रूपमा गैरकानुनी क्रियाकलाप ठहरिन्छ।

यसरी राजनीतिक पक्षधरता पुष्टि भएमा यो विषय अन्तर्राष्ट्रिय कानुनी मुद्दा बन्नसक्छ। अनि त्यसपछि, हरेक मुलुकमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूका गतिविधिहरूको छानबिन हुने सम्भावना प्रबल हुन्छ।

अब जिम्मेवारीको घडी

यदि हामी साँच्चै एनआरएनएलाई संस्थागत, राजनीतिक रूपमा तटस्थ, र विश्वसनीय बनाइराख्न चाहन्छौं भने, तत्काल सुधार आवश्यक छ। नत्र, संस्थाले गुमाउने विश्वास पुन: प्राप्त गर्न दशक लाग्न सक्छ।

अब समय आएको छ — निर्णयको। एनआरएनए लाई संस्था राख्ने कि राजनीतिक भातृसंस्थामा विलय गराउने?

लङ आइल्याण्ड, न्युयोर्क, अमेरिका