नयाँ दिल्ली— भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ। बुधबार राति १:३० बजे गरिएको उक्त आक्रमणलाई भारतले ‘अपरेशन सिन्दूर’ को नाम दिएको छ। भारतीय सेनाले यस कारबाहीलाई पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारहरूलाई ध्वस्त पार्ने उद्देश्यले सञ्चालन गरिएको जनाएको छ।

भारतीय सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अपरेशन सिन्दूर” अन्तर्गत आतंकवादीहरूका मुख्य अड्डा रहेका स्थानहरूमा आक्रमण गरिएको छ। भारतको दाबी अनुसार, यी स्थानहरू भारतमाथि भएको आतंकवादी आक्रमणका योजनाकर्ता र सहायकका अड्डा हुन्। लक्षित स्थानहरूमा बहावलपुर, मुरिदके, बाग, कोटली, र मुजफ्फराबाद मुख्य हुन्।

पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको जनाएको छ। आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको र मस्जिदसहित केही नागरिक संरचनाहरूमा क्षति पुगेको पाकिस्तानको दाबी छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतको यो कदमलाई “बिना उक्साहटको आक्रमण” को रूपमा व्याख्या गर्दै यसको जवाफ दिने अधिकार पाकिस्तानसँग रहेको बताएका छन्। उनले भने, “सम्पूर्ण पाकिस्तान आफ्नो सेनाको समर्थनमा छ। हाम्रो मनोबल अटल छ र कुनै पनि खतरा सामना गर्न तयार छौं।”

यो आक्रमणले भारत-पाकिस्तानबीचको तनावलाई थप चर्काएको छ। पहलगाममा भएको आतंकवादी आक्रमणपछि यी दुई देशबीचको सम्बन्ध झनै खराब भएको छ। दुबै पक्षले एकअर्कामाथि दोषारोपण गरिरहेका छन्।

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेको छ। स्थिरता र संवादका लागि दुबै पक्षलाई संयमित रहन आग्रह गरिएको छ।

(स्रोत: सरकारी विज्ञप्ति र मिडिया रिपोर्टहरू)