विराटनगर – विराटनगर महानगरपालिका- ४ मा दुर्लभ स्पिटिङ कोब्रा सर्प फेला परेको छ। नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिएको हो।

सर्पलाई नियन्त्रणमा लिएर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङमा पठाइएको छ। वन कार्यालयमा सर्पलाई सुरक्षित स्थानमा राख्ने क्रममा सर्पले विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन्।

सर्पको विष शरीरमा परेपछि उद्धारकर्ता घिमिरेलाई तत्काल उपचारका लागि कोसी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था चिकित्सकीय निगरानीमा रहेको छ।

स्पिटिङ कोब्रा खतरनाक मानिन्छ, किनभने यसले परैबाट विष फाल्न सक्छ। चिकित्सकका अनुसार, विष अनुहार वा आँखामा परे गम्भीर असर पुर्‍याउन सक्छ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले यस्ता सर्प फेला परे तत्काल खबर गर्न सबै नगरवासीलाई आग्रह गरेको छ। साथै, गर्मी मौसममा तराई–मधेसमा सर्पदंशको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरिएको छ।