काठमाडौं—नक्सालस्थित नारायणचौरमा राजावादीहरूद्वारा आयोजित आन्दोलनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, भीडलाई उत्तेजित बनाउन खोजेको आरोपमा थापालाई नियन्त्रणमा लिइएको हो। उनका अनुसार, अन्य केही प्रदर्शनकारीहरू पनि नियन्त्रणमा लिइएका छन्।

नवराज सुवेदीको नेतृत्वमा गठित ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि विभिन्न माग राख्दै अनिश्चितकालीन आन्दोलन सञ्चालन गरिरहेको छ । सो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूको समर्थन प्राप्त छ।

आन्दोलनमा राजसंस्थाको पुनर्स्थापना, नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्ने र संघीयता खारेज गर्ने जस्ता मागहरू उठाइएको छ ।

थापा २०७९ सालमा भएको प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नं. १ बाट नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । 

आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापा सोही निर्वाचनमा असोज २३ गते उम्मेदवारी दर्ताका क्रममा ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको  बताएका थिए ।