काठमाडौं— नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध परेको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै कानुनी प्रक्रियामा जाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले यो मुद्दा नियतवश अघि बढाइएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो।
पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, पार्टी र नेताविरुद्ध पहिलेदेखि नै योजनाबद्ध प्रहार हुँदै आएको र यस मुद्दा त्यसकै पछिल्लो उदाहरण भएको आरोप लगाइयो।
"पार्टी र हाम्रा नेतामाथि पहिले पनि प्रहार भएका छन्। अहिले पनि नियोजित रूपमा भ्रष्टाचार मुद्दा लगाइएको छ। यो राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ, र हामी यसको प्रतिवाद गर्छौं," ज्वालाले भने।
उपाध्यक्ष ज्वालाले पार्टी अध्यक्ष नेपाल र अन्य नेताहरूले मुद्दाबाट भाग्ने होइन, बरु कानुनी प्रक्रियामा जानु र निष्कलंक साबित हुनु आफ्नो प्राथमिकता भएको बताए।
"हामी अदालतबाट क्लिनचिट लिएर आउनेछौं। सार्वजनिक सम्पत्ति वा आर्थिक चलखेलमा हाम्रो कुनै संलग्नता छैन, र हामी आफ्नो सत्यतामा दृढ छौं," उनले भने।
ज्वालाका अनुसार, यो मुद्दाको थप विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर अदालती प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
"यस मुद्दाले अन्य काण्डहरूका लागि पनि नजिर स्थापित गर्नेछ। ठूला भ्रष्टाचार काण्डमा पनि अब जिम्मेवारहरू बच्न सक्ने छैनन्," ज्वालाले थपे।
अध्यक्ष माधवकुमार नेपालले यस मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै संक्षिप्त प्रतिक्रिया दिए।
"नबिराउनु, नडराउनु। सत्यको विजय हुन्छ," नेपालले भने।




















