झापा—नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले देशका तीन प्रमुख नेताहरुलाई २०८३ सालमा संन्यास लिन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देशका लागि मार्गदर्शक अभिभावक बन्नुपर्ने सुझाएका हुन्।
"देशलाई एकजुट राष्ट्रिय नेतृत्व आवश्यक छ। २०८३ साल यसका लागि सुखद वर्ष हुन सक्छ," शर्माले झापाको मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको आयोजनामा ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी शिलान्यास गर्दै भने। "तीन नेताले संन्यास लिएर नागरिकलाई आशा र उत्साह दिने अवसर सिर्जना गर्न सक्छन्।"
कांग्रेसको आगामी महाधिवेशनमा सभापति परिवर्तन हुने विषयमा पनि उनले चर्चा गर्दै भने, "हाम्रो विधानमै सभापति परिवर्तनको व्यवस्था छ। आगामी सभापति को बन्ने भन्ने विषयमा छलफल र बहस चलिरहेको छ। हामी परिवर्तनतर्फ अघि बढ्न तयार छौं।"
कार्यक्रममा शर्माले खानेपानी ट्यांकी निर्माणले स्थानीय बासिन्दाको दैनिकीमा सहजता ल्याउने विश्वास व्यक्त गरे।




















