काठमाडौं—नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद शुरु हुने बित्तिकै गालीगलौज गर्ने परम्पराको विकास हुँदै गएको भन्दै आपत्ति जनाएका छन्  ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आपत्ति जनाएका हुन् ।  । संसदको कारबाही शुरु हुने बित्तिकै गालीगलौज गर्ने प्रवृत्तिका कारण संसदको मर्यादा गम्भीर रूपमा खल्बलिएको भन्दै तत्काल सुधारको गर्नुपर्नेमा उनले जोड दिए । 

घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई लक्षित गर्दै केही सांसदहरूले 'चोर, फटाहा र मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने' क्रम बढेको उल्लेख गर्दै यस्तो कार्यले संसदीय मर्यादा कायम रहन नसक्ने बताए ।

उनले  भिजिट भिसा प्रकरणको बारेमा संसद र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र समिति समेत गठन भइसकेको बताए । अब पनि संसद शुरु हुने बित्तिकै गालीलगलौज गर्ने प्रवृत्तिको अन्त्य नभए आफूहरु प्रतिवादमा उत्रिने उनले चेतावनी दिए । 

 ‘अहिले संसदमा नियमित रुपमा संसदको कारबाही सुरु भएपछि उठ्ने र दैनिक गालीगलौज गर्ने प्रक्रिया संसदभित्र आरम्भ भएको छ । यहाँ चोर भन्ने, फटाहा भन्ने र मानव बेचुवा भन्ने जुन प्रक्रिया आरम्भ भएको छ, यसलाई अन्त्य गर्नैपर्छ ।' उनले भने, 'र यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन । यो कुरा संसदको ध्यानाकर्षण भइसकेको विषय हो । सरकारको गम्भिर ध्यानाकर्षण भएर समिति बनिसकेको अवस्था हो । यसरी गाली गलौज गर्ने प्रक्रियाको अन्त्य नभए हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ ।’