काठमाडौं — राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। उनले राजकुमार गुप्ताको राजीनापछि पद सम्हालेकी हुन्।
मंगलबार बिहान गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए। उनले घुस प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै पदत्याग गरेका हुन्। गुप्ताले भनेका छन्, "विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचार हुँदै आएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको सिकार भएँ। अब लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भनेर राजीनामा दिएको हुँ।"
नवनियुक्त मन्त्री न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयर पदका लागि उम्मेदवार थिइन्। उक्त निर्वाचनमा उनले ९ हजार ६४ मत प्राप्त गरेकी थिइन्, तर नेपाली कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग पराजित भइन्। गौलीले ९ हजार ५३८ मत ल्याएका थिए।
स्थानीय तहको निर्वाचनमा पराजयपछि न्यौपाने नेकपा (एमाले) का विभिन्न जिम्मेवारीमा सक्रिय हुँदै राष्ट्रिय सभामा पुगेकी हुन्।




















