काठमाडौँ—नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पोलिटब्यूरो बैठकमा गम्भीर छलफल भएको छ ।

शुक्रबार र शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

संविधानको संरक्षक, पालक र सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु उपयुक्त हो कि होइन भन्ने विषयमा बैठकमा नेताहरूले धारणा राखेको उनले बताए । तर, विद्याका विषयमा कुनै निर्णय नभएको उनले बताए ।

पार्टीको यो भन्दा ठूलो फोरमबाट उचित समयमा आवश्यक निर्णय लिने बैठकले निष्कर्ष निकालेको गौतमले बताए । 

‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौं भन्नुभएको’, गौतमले भने ।

भण्डारीको सदस्यता नवीकरण पनि पेन्डिङ अवस्थामा रहेको उनले बताए । 

‘सदस्यताका सम्बन्धमा पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ । यो धाराको व्याख्यापछि पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ । तर, अहिले स्थगन छ भन्ने हो’, गौतमले थपे । 

उनले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा प्रवेश गर्न दिँदैछैन भन्नु अफबाह रहेको बताए । तर, भण्डारी राजनीतिमा आउँदा उनले यसअघि लिएको राष्ट्रपति पदको गौरव के होला भन्ने चिन्ता अधिकांश नेताहरूमा रहेको गौतमले बताए ।  यो कुरामा पार्टी गम्भीर रहेको समेत उनले बताए ।