काठमाडौं — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेलनै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भैसकेको जानकारी गराएको बताएका छन् । 

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीले पार्टीले सदस्यता त पेन्डिङमा राखिदियो नि ? भनेर प्रश्न प्रश्न सोधेकोमा जवाफमा पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’

उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए ।‘जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ,’ पोखरेलले भने ।

उनले आजको छलफलमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने बताए । अहिले च्यासलमा ओली र भण्डारीबीच एक्लाएक्लै वार्ता चलिरहेको छ ।