काठमाडौं — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः फर्कने इच्छा अकल्पनीय भएको बताएका छन्।

बुधवार राजधानीमा आयोजित जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा नेपालको राजनीति र ट्रेड युनियन आन्दोलनसम्बन्धी प्रशिक्षण दिँदै महासचिव पोखरेलले उक्त धारणा सार्वजनिक गरेका हुन्।

पोखरेलका अनुसार विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको पदका लागि पार्टीभित्रै उमेर र सक्रियताको सवाल उठाउँदा पनि अन्ततः पार्टी निर्णयमा आफूले साथ दिएको स्पष्ट पारे। उनले भने, “मैले विद्या भण्डारीको निवासमै गएर राष्ट्रपतिको जिम्मेवारी नलिन सुझाव दिएको थिएँ, तर पार्टीको निर्णय भएपछि हामी सबैले सर्वसम्मत राष्ट्रपतिका रूपमा स्वीकार्य बनायौं।”

दुई कार्यकाल राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी व्यक्तिले फेरि राजनीतिमा फर्किने अपेक्षा गर्नु नहुने उल्लेख गर्दै पोखरेलले भने, “तर वहाँमा त्यो धैर्यता देखिएन, जुन दुःखद छ।”

उनले पार्टीको नवौं केन्द्रीय कमिटीले भण्डारीलाई सम्मानित स्थानमा बस्नुपर्ने निर्णय गरेको स्मरण गराउँदै पार्टी नीति र पद्धति पालना गर्न आग्रह गरे। “पार्टीको दृष्टिकोण स्पष्ट छ— उहाँ सम्मानित भएर बस्नुपर्छ। पार्टीको निर्णयमा उहाँले विश्वास राख्नुहुन्छ भन्ने आशा छ,” पोखरेलले भने।

महासचिव पोखरेलले नेतृत्वको म्याद, उमेर सीमा र प्रतिस्पर्धाको सवालमा पनि धारणा राख्दै भने, “७० वर्षको उमेर हद लोकतान्त्रिक मूल्य र मान्यताको विरोध होइन। नेतृत्व कुनै रहस्यमय वा अलौकिक पात्र होइन, जनताबाट अनुमोदित हुनुपर्ने पात्र हो, जुन मदन भण्डारीको विचार हो।”

उनले थपे, “पार्टीको लोकतान्त्रिकरण मूल मार्गमा छ। महाधिवेशनमा उम्मेदवार हुने अधिकार सबैसँग छ, तर नेतृत्व चयनको अधिकार भने प्रतिनिधिहरूकै हुन्छ।”