विराटचोक—कोशी प्रदेशको राजधानी विराटनगरदेखि ९० किलोमिटर टाढा भारतको पूर्णियामा निर्माणाधीन विमानस्थल सञ्चालनमा आउँदा यसले विराटनगरसहित कोशी प्रदेशका पर्यटन व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्र्याउने सम्भावनामा यो विमानस्थलले सहजता ल्याउने विश्वास लिइएको छ।

विराटनगरका होटल व्यवसायी तथा नेपाल पर्यटन व्यवसायी एशोसिएसनका उपाध्यक्ष राजन श्रेष्ठका अनुसार विमानस्थल सञ्चालनमा आएपछि ट्राभल्स एण्ड टुर एशोसिएसनसँग आबद्ध व्यवसायी, होटल व्यवसायी, तथा उद्योग–व्यापारमा संलग्नहरूलाई प्रत्यक्ष लाभ हुनेछ। श्रेष्ठले नेपालबाट भारतमा अध्ययन, उपचार तथा व्यापार प्रयोजनका लागि जाने नागरिकहरूलाई समेत यो विमानस्थलले यात्रा सहज बनाउने बताए।

श्रेष्ठले विराटनगर विमानस्थलबाट पर्वतीय (माउन्टेन) उडानका प्याकेज सञ्चालन गर्ने बाटो निजी क्षेत्रलाई खुल्ने र सरकारी सहयोग भए अझ सहजता आउने धारणा राखेका छन्। यद्यपि, सरकारी सहजीकरण नभए पनि निजी क्षेत्रले भारतीय पर्यटन व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्णिया विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आगामी साउन ३० गतेसम्ममा उद्घाटन हुने बताइएको छ। असोज–कार्तिकको पर्यटन सिजन लक्षित गर्दै भारतबाट पर्यटक भित्र्याउने योजना व्यवसायीहरूले बनाइरहेका छन्।

झापा काँकडभिट्टाबाट २२ किलोमिटर टाढा बागडोगरा विमानस्थलको लाभ झापा र पूर्वका जिल्लाले लिइरहेको सन्दर्भमा पूर्णिया विमानस्थलको लाभ भने विराटनगरले नै लिने व्यवसायीहरूको अपेक्षा छ। विराटनगरबाट १६५ किलोमिटर दक्षिणमा रहेको दरभंगा विमानस्थलको केही लाभ विराटनगरले लिइरहे पनि पूर्णिया नजिक भएकाले यसको प्रत्यक्ष फाइदा विराटनगर र कोशी प्रदेशलाई हुने बताइएको छ।

विराटनगरबाट बागडोगरा र दरभंगा पुग्न करिब ४ घण्टा लाग्ने भए पनि पूर्णिया डेढ घण्टामा पुगिने भएकाले यो मार्ग बढी सहज हुने विश्वास गरिएको छ। पूर्णियाबाट भारतका दिल्ली, मुम्बई, बैंगलुरु र हैदरावाद जस्ता सहरहरूमा उडान हुने जानकारी दिइएको छ।

व्यवसायीहरूले माउन्टेन प्याकेजमार्फत भारतीय पर्यटकलाई भित्र्याउने र यहाँबाट पर्वतीय उडान सेवा प्रदान गर्न सकिने संभावना औंल्याएका छन्। उद्योग–व्यापारका दृष्टिले पनि सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले यात्रा गर्न सहजता पाउने विश्वास गरिएको छ।

यसअघि विराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु गरिएको भए पनि दिगो बनाउन नसकिएको अनुभव रहेकाले पूर्णिया विमानस्थल सञ्चालनसँगै नयाँ उत्साह र सम्भावना थपिएको व्यवसायीहरूको धारणा छ।