काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुब्लाएको बताएका छन्। ललितपुरको नख्खु जेलमा भेटपछि प्रचण्डले लामिछानेको स्वास्थ्य र अनुभवबारे जानकारी दिएका हुन्।
प्रचण्डले भने, “मेरो क्याबिनेटमा उहाँ दुई पटक गृहमन्त्री भइसक्नुभएको हो। अभिभावकको हैसियतले भेट गर्न आएको हुँ। भैरहवा पनि जान चाहेको थिएँ तर जान पाइनँ।”
उनका अनुसार लामिछानेले भैरहवामा रहँदा आफूलाई ‘गोलघर’मा राखिएको अनुभव भएको बताएका छन्। प्रचण्डले भने, “भैरहवामा ठूलो पीडा भएको कुरा उहाँले सुनाउनुभयो। दुब्लिनु पनि भएछ। तर यहाँ (नख्खु जेलमा) भने भैरहवाभन्दा धेरै राम्रो व्यवस्था भएको र त्यसको प्रशंसा गर्नुभयो।”
भेटमा लामिछानेले आफू प्रतिशोधको सिकार भएको दाबी पनि गरेका थिए। “सरकारले विभेदपूर्ण व्यवहार गर्यो। अदालतले तोकेको बिगो तिरे पनि सुविधा पाइनँ। कांग्रेस र एमालेले देखाएको अनुदारताले उल्टै पार्टीलाई फाइदा पुगेको छ,” प्रचण्डमार्फत लामिछानेको भनाइ उद्धृत गरिएको छ।




















