लेटाङ — नेकपा एमाले लेटाङ नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट खगेन्द्रराज भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्। उनले अर्का प्रतिस्पर्धी नन्दलाल धिमाललाई १०२ मतको अन्तरले पराजित गरेका हुन्।

निर्वाचनमा भण्डारीले १६२ मत प्राप्त गर्दा धिमालले ६० मत मात्र पाए। दुवै पक्षले पदाधिकारीमा प्यानल बनाएर प्रतिस्पर्धा गरेकोमा अध्यक्षसहित पाँचै पदाधिकारीमा भण्डारी पक्ष विजयी भएको हो।

उपाध्यक्षमा भण्डारी प्यानलका विष्णुकुमार मगर १६४ मत ल्याएर निर्वाचित भए भने प्रतिस्पर्धी यामनाथ सुवेदीले ३९ र स्वतन्त्र उम्मेदवार सोमनाथ निरौलाले १४ मत पाए।

सचिवमा उर्गेन तामाङ १६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी जीतबहादुर लामाले ५२ मत पाए। उपसचिव (खुला) मा नगेन्द्रराज पराजुली १५५ मत ल्याएर विजयी भए भने टेकनाथ निरौलाले ५६ मत पाए। त्यस्तै, उपसचिव (महिला) मा १५४ मतसहित चिजमाया लिम्बू निर्वाचित भइन् भने प्रतिस्पर्धी पुनम मस्की मगरले ६४ मत पाइन्।

यसपटक नगर कमिटीका सदस्यहरू भने सर्वसम्मतिबाट चयन गरिएको छ। अधिवेशनमार्फत पदाधिकारीसहित ६१ सदस्य निर्वाचित भएका छन्। ७५ सदस्यीय नगर कमिटी गठन हुने भएकाले बाँकी १४ जना नवनिर्वाचित कमिटीले चयन गर्ने बताइएको छ। यस्तै, लेखा समिति गठन गर्ने प्रक्रिया बाँकी छ।