काठमाडौं — प्रतिनिधि सभा विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि तय गरिएको निर्वाचन मिति विघटनपछि अर्थहीन भएकोले सबै कार्यक्रम स्थगित गरिएको हो।

रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुने तय गरिएको थियो। तर, प्रतिनिधि सभा नै भंग भएपछि सो निर्वाचन अब हुने छैन।

यद्यपि मनाङ क्षेत्र नम्बर २ मा हुने प्रदेश सभा सदस्यको उपनिर्वाचन भने यथावत् रहने आयोगले जनाएको छ। उक्त क्षेत्र सांसद दीपक गुरुङ (दीपक मनाङ) ज्यान मुद्दामा दोषी ठहर भएपछि रिक्त भएको हो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा विघटन भए पनि प्रदेश सभा भने यथावत् रहेको हुँदा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम कायम रहनेछ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै शुक्रबार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते आमनिर्वाचनको मिति घोषणा गरिएको हो।