काठमाडौं—सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी ‘मेटा’ लाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

काठमाडौंमा राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटकपटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए ।

तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अब सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताए ।

‘हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको कार्यालयतिर गइरहेको छ। यहाँ दर्ता हुनुपर्दैन ? कर तिर्नुपर्दैन ?’ उनले प्रश्न गरे।