काठमाडौँ—श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य  हर्क साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’ अचानक गायब भएको छ। करिब १४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज बिहीबार दिउँसोदेखि नखुल्ने अवस्थामा पुगेको हो।

हाल उक्त पेज खोल्न खोज्दा फेसबुकमा ‘यो सामग्री अहिले उपलब्ध छैन’ भन्ने सन्देश देखिने गरेको छ। यस विषयमा श्रम संस्कृति पार्टीका नेता रसिक थेबेले पेज प्राविधिक कारणले अस्थायी रूपमा सस्पेन्ड भएको जानकारी दिएका छन्। उनले समस्या समाधानका लागि पहल भइरहेको समेत बताएका छन्।

यसअघि बिहीबार दिउँसो साम्पाङले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ‘यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल’ उल्लेख गर्दै पोस्ट गरेका थिए, जसले विमानस्थलको नाम परिवर्तनको संकेत दिएको थियो।

फेसबुकले कुन मापदण्ड उल्लंघनका कारण पेज सस्पेन्ड गरेको हो भन्नेबारे भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।