काठमाडौं—नेपालमा हरेक वर्ष पहिरो र हिमपहिरोमा परी थुप्रैले ज्यान गुमाउँदै आएका छन् । अर्बौंको क्षति हुने गरेको छ । पहिरो र हिमपहिरोका घटना प्रायः अचानक र अप्रत्याशित रूपमा हुने गरेका छन् । तर, अब एआईको प्रयोगमार्फत यस्ता विपद् हुनुअघि नै संकेत पत्ता लगाउन सकिने सम्भावना बढेको छ ।
नेपालको किमताङ गाउँमा जमिन असामान्य रूपमा सरिरहेको स्पष्ट संकेतहरू देखिएका छन्, जहाँ घरका कङ्क्रिट सिँढीहरू चिरिएका छन् । रूखहरू अस्वाभाविक रूपमा ढल्किएका छन् । तर, जमिन कति गतिमा सरिरहेको छ भन्ने कुरा भने स्पष्ट थिएन ।
मेलबर्न विश्वविद्यालयकी गणितज्ञ एन्टोनेट टर्डेसिलासले एआईमार्फत तयार गरिएको विशेष नक्साबाट गाउँको मुनि ठूलो चलायमान क्षेत्र रहेको देखिएको बताइन् । उक्त नक्सामा जोखिमयुक्त क्षेत्रलाई रातो रङले चिनाइएको छ, जसले गाउँ उच्च जोखिममा रहेको संकेत गर्छ ।
उनका अनुसार, पहिरो अचानक आउनेजस्तो देखिए पनि यसको संकेत भने धेरैअघि देखि सुरु हुन्छ । रिमोट सेन्सिङ र राडारयुक्त स्याटेलाइट तस्बिरहरूले माटोका सूक्ष्म चालहरू पहिरो जानुभन्दा दिन, हप्ता वा वर्षअघि नै देखाउन सक्ने उनले बताइन् ।
यो अनुसन्धानका लागि सेन्टिनेल–१ स्याटेलाइटबाट प्राप्त तथ्यांक प्रयोग गरिएको थियो । यसले प्रतिसेकेन्ड हजारौँपटक राडार संकेत पठाएर जमिनको सूक्ष्म परिवर्तन मापन गर्छ ।
एआईले यस्ता विशाल तथ्यांकहरू विश्लेषण गरेर कहाँ जमिन चलिरहेको छ भन्ने पत्ता लगाउँछ । सामान्य मानिसले देख्न नसक्ने मिलिमिटरस्तरका परिवर्तनहरू पनि यसले पहिचान गर्न सक्छ ।
किन बढ्दैछ पहिरोको जोखिम ?
विशेषज्ञहरूका अनुसार, अव्यवस्थित निर्माण कार्य, खानी उत्खनन र जलवायु परिवर्तन आदि कारणले पहिरो जाने क्रम बढेको छ । नेपालजस्तो पहाडी देशमा जोखिम झन् बढी छ । सन् २०२५ अक्टोबरमा मात्रै पहिरोका कारण करिब ६० जनाको ज्यान गएको थियो ।
एआईले कसरी मद्दत गर्छ ?
एआईको एउटा प्रमुख पक्ष मेसिन लर्निङले हजारौँ भिरालो जमिनको विश्लेषण गरेर जोखिमयुक्त क्षेत्र पहिचान गर्न सक्छ । यसले हजारौँ स्थानको एकैपटक विश्लेषण, मानवीय क्षमताभन्दा छिटो नतिजा र जोखिमको प्रारम्भिक संकेत दिन सक्छ । ब्रिटिस जियोलोजिक सर्भेका वैज्ञानिक एलेसान्द्रो नोभेलिनोका अनुसार, “मानिसलाई महिना वा वर्ष लाग्ने विश्लेषण मेसिनले केही घण्टामै गर्न सक्छ ।”
बेलायतमा एआईले तीन लाखभन्दा बढी भिरालो जमिनको अध्ययन गर्दा करिब ३ हजार सक्रिय रूपमा चलिरहेका क्षेत्र पहिचान गरिएको छ ।
त्यसैगरी, इन्डोनेसियको सुमात्रामा गएको ठूलो पहिरोपछि एआईमार्फत हजारौँ पहिरोहरूको नक्सांकन गरेर उद्धार कार्यमा सहयोग गरिएको थियो ।
हिमपहिरो पत्ता लगाउने नयाँ प्रणाली
स्विस अनुसन्धानकर्ताहरूले ‘डिप लर्निङ’ आधारित प्रणाली विकास गरेका छन् । यसले वेबक्याम तस्बिरहरूबाट हिमपहिरो पत्ता लगाउन सक्छ । यसका लागि हजारौँ तस्बिरहरू प्रयोग गरेर मोडेललाई तालिम दिइएको थियो ।
अष्ट्रियाको टायरोल क्षेत्रमा गरिएको परीक्षणमा यो प्रविधिले राम्रो सम्भावना देखाएको भए पनि अझै ‘फल्स पोजिटिभ’ (गलत चेतावनी) समस्या रहेको बताइएको छ । यसको भविष्यको सम्भावना अत्याधिक रहेको बताइएको छ ।
एआई प्रविधिले जोखिमयुक्त बस्ती पहिचान, सुरक्षित स्थानान्तरण योजना र आपतकालीन तयारी जस्ता क्षेत्रमा ठूलो सहयोग गर्न सक्ने बताइएको छ ।
विशेषज्ञहरूका अनुसार, पहाडहरू स्थिर देखिए पनि वास्तवमा निरन्तर चलिरहेका हुन्छन् । त्यसैले, एआईले देखाउने यी सूक्ष्म संकेतहरू भविष्यमा ठूलो विपद् रोक्नका लागि अत्यन्त महत्वपूर्ण हुन सक्छन् ।




















