काठमाडौं—मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ। पहिलोपटक उमेरका कारण कोषिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा प्रयोग गरिएको छ।
अमेरिकाको बोस्टनस्थित बायोटेक स्टार्टअप ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ। परीक्षणअन्तर्गत यो इन्जेक्सन जलविन्दुबाट पीडित बिरामीको एउटा आँखाभित्र लगाइएको बिजनेस इन्साइडरले जनाएको छ। यस ट्रायलको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोषिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ। आगामी ६ महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ।
यस प्रविधिमा अमेजनका संस्थापक जेफ बेजोस र ओपनएआईका स्याम अल्टम्यानसहित कयौँ ठूला लगानीकर्ताहरूले लगानी गरेका छन्। एली लिली र मर्कजस्ता औषधि उत्पादक कम्पनीहरूले पनि यस क्षेत्रमा आफ्नो लगानी र अनुसन्धान बढाइरहेका छन्। मानिसमा परीक्षण सुरु हुनुअघि यो अनुसन्धान मुसा र बाँदरमा मात्र सीमित थियो, जुन अब पहिलोपटक मानव परीक्षणको चरणमा प्रवेश गरेको छ।
यसअघि यो प्रविधिको परीक्षण मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो। यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न अब डाक्टर र वैज्ञानिकहरूले आगामी कयौँ महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ। यस थेरापीअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइएको छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ।
यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनका लागि ‘अन स्विच’को रूपमा काम गर्छ, जसले कोषिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने बताइएको छ। यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यस प्रविधिले उनीहरूको दृष्टि सुधार गर्न सकारात्मक परिणाम देखाएको थियो। यस थेरापीका लागि आँखालाई छानिनुको कारण शरीरका अन्य भागको तुलनामा यसलाई निगरानी गर्न र सम्भावित दुष्प्रभावको मूल्यांकन गर्न अपेक्षाकृत सजिलो र सुरक्षित मानिनु रहेको बताइएको छ।
लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलिनले यो उपलब्धि उनीहरूको कम्पनी वा एजिङ बायोलोजीका लागि मात्र नभई समग्र मेडिकल विज्ञानकै लागि सम्भावित रूपमा एउटा ठूलो र परिवर्तनकारी क्षण भएको बताएका छन्। यदि, यो क्लिनिकल परीक्षण सफल भयो भने एजिङ थेरापीको क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने बताइएको छ। यसको दीर्घकालीन लक्ष्य शरीरका कोषिकाहरूलाई फेरि युवा र सक्रिय बनाउने तथा उमेरसँगै डीएनएको कार्यप्रणाली र जीन अभिव्यक्तिमा आउने परिवर्तनलाई सुधार गर्ने हो।



















