काठमाडौं – आठवटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक घोषणा गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भएको बताएका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ।”
शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। आठवटा दलहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै तत्काल कदम चाल्न आग्रह गरेका छन्।





















