काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यावश्यक सरकारी संस्थाहरूमा लक्षित आगजनी भएको बताउँदै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
सिंहदरबारमा आइतबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उनले सुरक्षा निकाय, अदालत र प्रशासनिक भवनहरूमा गरिएको आगजनीका कारण महत्त्वपूर्ण कागजातहरू नष्ट भएको उल्लेख गरिन्।
‘नेपाली भएर कसैले यस्तो काम गर्छ ? सरकारी संस्थामा आगजनी गर्नेलाई नेपाली कसरी भन्न सकिन्छ ?’ प्रधानमन्त्री कार्कीले प्रश्न गर्दै भनिन्, ‘यो घटना पूर्व तयारीसहितको षड्यन्त्र जस्तो देखिन्छ। भौतिक क्षति त पुरा गर्न सकिन्छ, तर जलेर नष्ट भएका कागजातहरू कहिल्यै पाउन सकिँदैन।’
उनले प्रहरीका चौकी, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबारभित्रका पुराना कागजातहरू र अन्य संवेदनशील फाइलहरू जलेर नष्ट हुनु ठूलो क्षति भएको बताइन्।
प्रधानमन्त्री कार्कीले घटनामा संलग्नहरूलाई छानबिन गरी कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी घरहरूमा आगजनी गरेका थिए।




















