काठमाडौं — जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवन र पूर्वाधार पुनर्निर्माणमा श्रमदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ।
पार्टीको केन्द्रीय र्याट समन्वय विभागका कार्यवाहक प्रमुख वैकुण्ठ थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा ध्वस्त भएका सरकारी भवनको पुनःनिर्माणमा सहभागिता जनाउन आग्रह गरे।
थापाले सडक र सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गर्दै ट्राफिक स्वयंसेवक सेवा सञ्चालन वा सहयोगमा पनि सहभागी हुन अपिल गरेका छन्। साथै, सामाजिक सुरक्षामा योगदान गर्न शान्ति–सुरक्षा कार्यक्रम सञ्चालन गर्न, विपन्न र प्रभावित परिवारलाई दैनिक आवश्यकता सामग्री वितरण गर्न र सामाजिक सद्भाव कायम गर्न सक्दो सहयोग गर्न आग्रह गरे।
उनले भने,
“हामीले आज गर्ने योगदानले केवल संरचना पुनर्निर्माण मात्र गर्ने छैन, यो हाम्रो लोकतन्त्र र सामाजिक सहअस्तित्वलाई बलियो बनाउन पनि टेवा पुग्नेछ।”




















