काठमाडौं — नेकपा (एमाले) भक्तपुरका सबै चारवटा स्थानीय तहका कमिटी तथा केही जनवर्गीय कमिटीको नेतृत्वले सामूहिक राजीनामा दिएका छन्।

भदौ २३ गते जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनीहरूले नैतिक तथा सामाजिक जिम्मेवारी बहन गर्दै पदबाट राजीनामा दिएको दाबी गरिएको छ। भदौ २४ गते मिति उल्लेख भएको संयुक्त विज्ञप्तिमा भनिएको छ,

“हामी मौन बस्न सक्दैनौं। हालको प्रधानमन्त्रीले नेतृत्व गरिरहेको पार्टीले गरेको दमन र अत्याचारको घोर भत्सर्ना गर्दछौं। विद्यार्थीको पक्षमा उभिनुपर्ने संगठनलाई दमनको मतियार बनाइएको छ। यस्तो अवस्थामा कुनै तहको नेतृत्वमा बसिरहन हामीलाई नैतिक र सामाजिक जिम्मेवारीले नदिने भएकाले आजैदेखि लागू हुने गरी राजीनामा दिएका छौं र हाम्रो नेतृत्वमा रहेको कमिटी विघटन भएको घोषणा गर्दछौं।”

राजीनामा दिनेमा सूर्यविनायक नगर कमिटी अध्यक्ष एलिशा कार्की, चाँगुनारायण नगर कमिटी संयोजक रोजन खड्का, मध्यपुर थिमी नगर कमिटी संयोजक रोशन कुटु, भक्तपुर नगर कमिटी संयोजक रोजिना गोठे, भक्तपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष विकल्प शर्मा र सानुठिमी क्याम्पस कमिटी संयोजक निराजन थापा रहेका छन्।

विज्ञप्तिमा भनिएको छ,

“हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीका दास होइनौं। हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, जनताको न्याय र देशको भविष्यसँग मात्र हुनेछ। हामीलाई दल होइन, देश जोगाउनु छ।”