पोखरा — २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाले पठाएको बधाई सन्देशप्रति नेकपा एमालेले गम्भीर चासो व्यक्त गरेको छ।

नेपालको इतिहासमा दलाई लामाले कुनै नेपाली प्रधानमन्त्रीलाई बधाई दिएको यो पहिलो घटना भएकाले एमालेले यसबारे चासो राखेको हो।

एमाले गण्डकी सम्पर्क कमिटी र कास्की–काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिहरूबीच भएको छलफलमा उक्त घटना समीक्षा गरिएको छ। पार्टीका केन्द्रीय सदस्य खगराज अधिकारीले भने, “यो घटना र हालैको राजनीतिक परिवर्तनको सम्बन्धमा पार्टी गम्भीर समीक्षा गरिरहेको छ।”

बैठकले घटनाक्रमलाई देशको वर्तमान भूराजनीतिक स्थिति र आन्तरिक सुरक्षाका लागि नयाँ चुनौतीका रूपमा लिएको निष्कर्ष निकालेको छ। सिंहदरबार, सङ्घीय संसद् भवन लगायतका महत्त्वपूर्ण संरचनामा क्षति, जेन–जी आन्दोलनको हिंसात्मक रूप, एक नेताका लागि देशभरका जेलमा तोडफोड, पूर्वप्रधानमन्त्री दम्पतीमाथि आक्रमण र सुरक्षा संयन्त्रको उदासीनता जस्ता विषयमा पनि बैठकमा गम्भीर छलफल भएको थियो।