काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनको क्रममा हरेक राजनीतिक दलबाट सदस्य समावेश गरी बृहत् मन्त्रिपरिषद् बनाउन प्रस्ताव गरे पनि आफूले त्यसलाई अस्वीकार गरेको खुलासा गरेकी छन्।

बीबीसी नेपालीसँगको विशेष कुराकानीमा कार्कीले भनिन्, “राष्ट्रपतिज्यूले हरेक राजनीतिक दलका एक/एक सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिपरिषद् बनाउनुस् भन्नुभएको थियो, तर मैले त्यस्तो राम्रो हुँदैन भनेँ।”

उनी आगामी १–२ दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको बताइन्। नयाँ मन्त्रिपरिषद्को आकार १०–११ सदस्यीय रहने र राजनीतिमा नरहेकालाई मन्त्री बनाउने उनले जानकारी दिइन्। कार्कीका अनुसार, “राजनीतिमा गएको व्यक्ति रहेछ भने त्यस्ता व्यक्तिलाई हटाएर गैरराजनीतिक वा कुनै संस्थामा काम गरेको, जनजाति, दलित, महिला र पिछडिएको वर्गका प्रतिनिधि ल्याउने पक्षमा छौँ।”