काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा देउवाले वर्तमान राजनीतिक अवस्थाको समाधान संविधानकै दायराभित्र खोजिनुपर्ने बताएका छन्। उनले भने, “संविधान मुलुकको सर्वोच्च कानून भएकाले राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्छ। यदि संविधान बाहिर समाधान खोजियो भने अझ ठूलो अस्थिरता निम्तिन सक्छ।”
उनले नेपालको संविधान २०७२ लाई नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैको साझा दायित्व रहेको बताए।
देउवाले लोकतन्त्र र मानवअधिकारका मूल्यलाई आत्मसात गर्दै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सबैलाई आह्वान गरेका छन्। साथै, लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।




















