काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरीत सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएको भन्दै यसको परिणाम भविष्यमा भोग्नुपर्ने बताए। गौतमले हाल राज्य शक्ति सम्पूर्णरूपले समाप्त भएको पनि उल्लेख गरे।

उनीसँगै बैठकमा रहेका अन्य सांसदहरूले ‘जेनजी आन्दोलन’को कारण र प्रभावमा आफ्नो दृष्टिकोण राखे।

नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जेनजी आन्दोलन पवित्र उद्देश्यले सुरु भएको भए पनि अदृश्य शक्तिले यसलाई अपवित्र बनाएको आरोप लगाए। उनले ऐतिहासिक र सांस्कृतिक सम्पत्ति नष्ट हुनु दुःखद भएको बताए।

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले भ्रष्टाचार र असंवेदनशील क्रियाकलापका कारण आन्दोलन उग्र भएको बताए। उनले सामाजिक सञ्जाल बन्द, मन्त्रीको गाडीले बालिकालाई दिएको ठक्कर, तथा तत्कालीन सरकारले आन्दोलनबारे गरेको टिप्पणी जस्ता घटनाहरूले आन्दोलनलाई बल दिएको बताए।

गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोडेर केही गतिविधि भएको आशंका व्यक्त गरे र आन्दोलनलाई अराजकताको संज्ञा दिए।