काठमाडौं—जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन थालेको जनाएको छ।
महाशाखाका अनुसार चार दिन ढिला गरी आजदेखि मनसुन बर्हिगमन सुरु भएको हो। सामान्यतया हरेक वर्ष अक्टोबर २ मा मनसुन बाहिरिने गरे पनि यस वर्ष केही ढिला भएको विभागले जनाएको छ।
‘यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा गण्डकी प्रदेशको केही स्थानबाट बाहिरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण आज र मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल ती प्रदेशहरूमा सामान्यतया बदली छ र कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्ने सम्भावना छ।
मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन बर्हिगमनको समय प्रायः अस्थिर हुने गर्छ। ‘सामान्यतया अक्टोबर २ तिर मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ ढिलो पनि हुन सक्छ,’ उनले बताए।
महाशाखाले कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।



















