काठमाडौं—नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व रहँदासम्म वाम एकता असम्भव रहेको बताएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले भने, “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।”

संयोजक प्रचण्डले आगामी दिनमा वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै, “तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्नेछ,” भन्ने जानकारी पनि दिएका छन्।

कार्यक्रममा सहभागी युवा र कार्यकर्तासँगको छलफलका क्रममा प्रचण्डले हाल युवा पुस्ता, विशेषतः जेन–जी पुस्ता, माओवादीको विचारप्रति आकर्षित भइरहेको दाबी गरे।

उनले भने, “अहिले मेरो जेन–जी युवाहरुसँग पनि छलफल भैरहेको छ। युवाहरुले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ।”

भेटघाट कार्यक्रममा प्रचण्डले पार्टीका कार्यकर्तालाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा तयारी गर्न निर्देशन समेत दिएका छन्।