बेलबारी—बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेत राजनीतिमा प्रवेश गरेका छन् । बस्नेतसहित दिनेश प्रसाईं, पियुप्रसाद कायस्थ लगायतले ‘गतिशिल लोकतान्त्रिक पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।
बताइए अनुसार पार्टीका पदाधिकारी चुनाव लड्न नपाउनेगरी विधान बनाइएको छ । प्रसाईं अध्यक्ष रहेको पार्टीमा बस्नेत सदस्य छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने उद्धेश्यले बस्नेत सदस्यमै कायम रहेको बताइएको छ ।
पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंका अनुसार, बस्नेतलाई मोरङ–३ बाट उम्मेदवार बनाउने तयारी छ । अध्यक्ष प्रसाईंका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित भएर राजनीति गर्न स्थापना भएको हो ।
आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ दल दर्ताको लागि कात्तिक ३० गतेसम्मको समयसीमा दिएपछि यतिबेला विभिन्न समूहहरु राजनीतिक दलमा रुपान्तरण भइरहेका छन् ।
बेलबारी-९ निवासी बस्नेत पछिल्लो समय मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लागेका छन् । उनले बेलबारी नगरपालिकास्थित डाङ्गीहाटमा अहिले राइसमिल संचालन गर्दै आएका छन् ।



















