काठमाडौं — वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता अन्त्य गरेका छन्।
पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत उनले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन्।
घिमिरेले पछिल्ला वर्षहरूमा रास्वपाको कानुन विभागसहित विभिन्न विभागहरूमा रहेर कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा योगदान दिएका थिए।
विशेषगरी प्रवासी नेपाली र गैर आवासीय नेपालीसँग सम्बन्धित कानुनहरूमा उनले गहन अध्ययन गर्दै उनीहरूका समस्या समाधानका लागि कानुनी मस्यौदा तयार पारेका थिए।
गैर आवासीय नेपालीलाई नेपालको विकासमा जोड्ने उद्देश्यले नागरिकता र लगानीसम्बन्धी कानुनमा संशोधन आवश्यक रहेको सुझाव समेत उनले दिएका थिए। साथै, संविधान र कानुन संशोधनको पहल गर्न रास्वपाले अग्रसर हुनुपर्ने धारणा पनि उनले निरन्तर राख्दै आएका थिए।
रवि लामिछानेको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा कानुन विज्ञको रूपमा भूमिका निर्वाह गरेका घिमिरे अन्य अदालतहरूमा लामिछानेविरुद्ध दायर मुद्दाहरूमा भने संलग्न थिएनन्।




















