इलाम – हिजै मृत्युको अफवाह फैलिएको सूर्योदय नगरपालिका कार्यालयकी सहयोगी रूपा राई सोमबार उपचारकै क्रममा निधन भएकी छन्।
शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिक अटो र पिकअप ठोक्किँदा गम्भीर घाइते भएकी राईलाई तत्काल बि एन्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो। तर अस्पतालले उपचार सम्भव नभएको भन्दै फर्काएपछि उनलाई फिक्कल अस्पताल ल्याइयो। स्वास्थ्य परीक्षणपछि पल्स र ब्लडप्रेसर भेटिएपछि उनलाई नोबेल अस्पताल, विराटनगर स्थानान्तरण गरिएको थियो। तर सोमबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार, राईको शव पोष्टमार्टमका लागि फिक्कल अस्पताल राखिएको छ। मुचुल्का प्रक्रिया पूरा भएपछि पोस्टमार्टम अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ।
नगरपालिकामा नियमित कार्यमा व्यस्त रही आएकी राईको असामयिक निधनले नगरपालिका कर्मचारी र स्थानीय समुदायमा गहिरो शोक छाएको छ। सूर्योदय नगरपालिकाले विज्ञप्ति जारी गर्दै उनको योगदान सम्झँदै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।



















