काठमाडौं — आठ वटा वामपन्थी दलहरू मिलेर बन्ने नयाँ दलको नाम ‘नेकपा समाजवादी’ हुने र त्यसको चुनाव चिन्ह पाँचकुने तारा रहने भएको छ।
आइतबार बसेको बैठकमा आठ दलका नेताहरूले कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने सहमति गर्दै १८ बुँदे एकता प्रस्तावपत्रमा हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा (विप्लव) समूहका चिरन पुन, एमालेबाट अलग भएका नेता प्रेमबहादुर सिंह र नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकीले हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा बसेको बैठकमा हस्ताक्षर गरिएको सहमतिपत्रमा पार्टीको नाम खाली राखिए पनि, चुनाव चिन्ह पाँचकुने तारा रहने उल्लेख गरिएको छ।
सहमति अनुसार, नयाँ दलले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्नेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवाद नै नयाँ दलको क्रान्तिकारी कार्यक्रम हुने उल्लेख छ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र, अन्तरिम विधान पारित गर्ने र केन्द्रीय समिति गठन गर्ने कार्यहरू पूरा गरिने पनि सहमतिपत्रमा जनाइएको छ।



















