काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पदको दुरुपयोग गर्दै आफ्नी पत्नी, साली र भाञ्जीसहित नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको खुलेको छ।
‘जेन–जी’ आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई रोजगारी दिने उद्देश्यले बनाइएका पदहरूमा श्रेष्ठले आफ्नै परिवारलाई नियुक्त गराएको आरोप उठेको छ।
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका करार कर्मचारी आदर्शकुमार श्रेष्ठलाई विशिष्ट श्रेणी सचिवसरहको सेवा सुविधा सहित प्रमुख स्वकीय सचिव बनाएकी थिइन्। अदालतको पेशी व्यवस्थापनमा चलखेल गरेको आरोप लाग्दै आएका श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा समेत सेटिङ गरेर आफ्ना परिवारका सदस्यहरूलाई रोजगारी मिलाएको स्रोतहरूले जनाएका छन्।
स्रोतका अनुसार आदर्शकुमारले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव, साली कमला श्रेष्ठलाई सहसचिव सरहकै स्वकीय सहसचिव, भाञ्जी पुनम श्रेष्ठलाई नायब सुब्बा सरहको प्रशासन सहायक, नातेदार रविना श्रेष्ठ नायब सुब्बा सरहकै प्रशासन सहायकमा नियुक्ति गराएका छन् ।
यी सबै असोज २ गते एकै दिन नियुक्त भएका थिए। प्रधानमन्त्री कार्की पदस्थापित भएको लगभग एक साताभित्रै यी नियुक्तिहरू गरिएको खुलेको छ।
आदर्शकुमार प्रधानमन्त्री कार्की सर्वोच्च न्यायालयमा प्रधानन्यायाधीश हुँदा पनि त्यहाँ नै कार्यरत थिए। उनले संगीता श्रेष्ठ आफ्नो पत्नी भएको स्वीकार गर्दै, प्रधानमन्त्रीको सचिवालय संवेदनशील स्थान भएकाले “विश्वासिलो व्यक्ति राख्नुपर्ने” कारणले पत्नी नियुक्त भएको दाबी गरेका छन्।
यस प्रकरणलाई जेन–जी युवा नेता रक्षा बमले कडा शब्दमा आलोचना गरेकी छिन । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै उनले भनेकी छन्— “जेन–जी विद्रोह रकमको मात्र होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावाद विरुद्ध पनि थियो।”“प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नै परिवारलाई नियुक्ति दिनु परिवर्तनका लागि बगेको रगतको अपमान हो।”
बमले आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न र परिवारका सदस्यलाई दिइएका नियुक्तिहरू तुरुन्तै खारेज गर्न माग गरेकी छिन्।
उनले सरकारलाई चेतावनी दिँदै थपेकी छिन्—“नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नु हुँदैन। सरकार बेलैमा सचेत होस्।”



















