काठमाडौँ— काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहकार्यको सम्भावना बलियो बन्दै गएको छ। स्रोतका अनुसार आगामी निर्वाचनपछि बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने र पार्टीको नेतृत्व रवि लामिछानेले सम्हाल्ने सहमतितर्फ दुवै पक्ष नजिक पुगेका छन्।
यसअघि दुवै नेताबीच भागबन्डा नमिल्दा छलफल निष्कर्षमा पुग्न सकेको थिएन। तर आज निर्णायक निष्कर्ष निकाल्ने उद्देश्यसहित पुनः भेटघाटको तयारी गरिएको स्रोतले जनाएको छ। छलफलमा बालेन पक्षका व्यक्तिहरूलाई पनि सहभागी गराई समानुपातिक कोटाको बाँडफाँटबारे गृहकार्य भइरहेको छ।
वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको प्रयास भइरहेका बेला ऊर्जा मन्त्री कुलमान घिसिङ, रवि लामिछाने र बालेन्द्र शाहबीच त्रिपक्षीय भेटघाटको तयारीसमेत भइरहेको स्रोतको दाबी छ। रवि लामिछानेसँग दुई चरणको एकल छलफलपछि रवि र बालेन एउटै मोर्चामा उभिने सहमतिनजिक पुगेको बताइन्छ।
हाल सहमतिका अन्तिम खाकाको प्राविधिक पक्ष टुंग्याउन दुवै पक्ष आन्तरिक गृहकार्यमा जुटेका छन्। हिजो रवि लामिछानेसँग करिब एक घण्टा चलेको छलफल निर्णायक बन्न नसकेपछि आज पुनः भेटघाटको तयारी गरिएको हो। यसपटक विभिन्न चरणका छुट्टाछुट्टै भेटपछि तीनै जनाबीच एकैचोटि निर्णायक भेट हुने तयारी रहेको स्रोतले जनाएको छ।
यसअघि भएको भेटमा बालेन्द्र शाह र कुलमान घिसिङबीच सहकार्य लगभग निश्चितजस्तै भएको बताइन्छ। उनीहरूको टिममा रवि लामिछानेलाई पनि समेट्ने प्रयास भए पनि हालसम्म अन्तिम सहमति जुट्न सकेको छैन। रवि र बालेनबीच सहमति जुटाउन असीम शाह, आसिफ शाह र कुमार बेनले सहजीकरण गर्दै विस्तृत सहमतिका खाका तयार पार्ने गृहकार्य थालेका छन्।
यसअघि रविसँगको छलफल टुंगोमा पुग्ने संकेत नदेखिएपछि बालेनले आफ्ना निकट सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए। त्यसपछि रवि लामिछाने स्वयं बालेनलाई भेट्न ज्वागल पुगेका थिए।
७ पुसको राति कमलपोखरीमा भएको छलफलमा उठेका विषयलाई रविले बाहिर फरक ढंगले प्रस्तुत गरेको भन्दै बालेन असन्तुष्ट बनेका थिए। हिजोको भेट निष्कर्षमा नपुगेपछि आज पुनः छलफलको तयारी गरिएको हो।
छलफलका क्रममा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातलगायत विषयमा गहन बहस भएको थियो। रविले रास्वपामा पहिल्यै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची बनाउने प्रस्ताव गरेका थिए।
स्रोतका अनुसार सहमतिअनुसार रवि लामिछाने रास्वपाको सभापति रहने, निर्वाचनमा बालेनले सहयोग गर्ने र भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने समझदारी बन्ने सम्भावना छ। सहकारी ठगीसम्बन्धी मुद्दा टुंगो नलाग्दासम्म रवि लामिछानेले सांसद वा मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारी सम्हाल्न नपाउने अवस्था रहेकाले पनि उनले बालेनलाई अगाडि सार्ने रणनीति बनाएको स्रोतको दाबी छ।




















