सिड्नी (अस्ट्रेलिया) — बिदा मनाउन वा मनोरञ्जन गर्न, यतिबेला अस्ट्रेलियनहरू देशबाहिर जाने लहर सुरु भएको छ। तर, अस्ट्रेलियाले २३ वटा देशलाई खतराको सूचीमा राखेर आफ्ना नागरिकलाई ‘यात्रा नगर्नुहोस्’ भन्ने कडा चेतावनी दिएको छ। नयाँ वर्ष नजिकिँदै गर्दा विदेश मामिला तथा व्यापार विभागको ‘स्माट्र्रावेल्लर’ सेवाले २३ देशमा यात्रा नगर्न वा नजान भनेको हो।

‘यात्रा नगर्नुहोस्’ सूचीमा अफगानिस्तान, युक्रेन, प्यालेस्टाइन, यमन, म्यानमार, उत्तर कोरिया, रूस, इरान र बेलारुसलगायत देशहरू छन्। ती देशमा युद्ध, आतंकवाद, अपहरण, मनपरी हिरासत र हिंसात्मक अपराधको उच्च जोखिम रहेको विभागले जनाएको छ।

अफगानिस्तानबारे अस्ट्रेलियाली सरकारले “कुनै पनि स्थान सुरक्षित छैन, ज्यान जान सक्ने जोखिम छ” भन्दै स्पष्ट चेतावनी दिएको छ। त्यहाँ अस्ट्रेलियाली कन्सुलर सहायता उपलब्ध नभएको पनि उल्लेख गरिएको छ।

त्यस्तै, फ्रान्स, संयुक्त अधिराज्य र थाइल्यान्डलाई ‘उच्चस्तरको सावधानी अपनाउनुहोस्’ सूचीमा राखिएको छ। यात्रा सल्लाह सहयोगी राष्ट्रका गुप्तचर जानकारी र सुरक्षा मूल्याङ्कनका आधारमा तय गरिएको विभागको भनाइ छ।

सरकारले चेतावनी दिँदादिँदै पनि केही अस्ट्रेलियाली जोखिमयुक्त देश यात्रा गरिरहेको घटनाहरू सार्वजनिक भइरहेका छन्।