काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले ‘नयाँ रास्वपा’लाई शुभकामना दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले जनताको चाहना नै बलियो नयाँ राजनीतिक शक्ति भएको उल्लेख गरेकी छिन्।

श्रेष्ठले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको र अवसर नपाएर पार्टी छोडेको भन्ने आरोप अस्वीकार गरेकी छिन्। उनले भनिन्, “म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिइनँ। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर होइन। देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने र नेपालीलाई नेपाली भएर बाँच्न सक्ने वातावरण सिर्जना गर्नु नै मेरो एजेन्डा हो।”

दलभित्र प्रश्न उठ्न बन्द भएको दिन लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै उनले प्रश्न दबाउन मिडिया ट्रायल र साइबर बुलिङमार्फत व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति बढे दलभित्र लोकतन्त्र बाँकी नरहने बताइन्। नयाँ रास्वपामा अहिले उठिरहेका प्रश्नहरूलाई नेतृत्वले सुधारको अवसरका रूपमा लिने विश्वास व्यक्त गर्दै उनले सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने संस्कार विकास हुनुपर्नेमा जोड दिइन्।

“सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्छ,” उनले भनेकी छिन्।

आफ्नो राजनीतिक यात्राबारे अनुमानका आधारमा समाचार र धारणा नबनाउन आग्रह गर्दै श्रेष्ठले आफू नयाँ राजनीतिमार्फत नयाँ सम्भावनाको खोजीमा निरन्तर जनता माझ रहेको बताइन्। “दल, चिन्ह, पद र भूमिका सबै अस्थायी हुन्, जनताको आवाजको प्रतिनिधित्व नै राजनीतिको स्थायी कर्म हो,” उनको भनाइ छ।

आफूप्रति देखाइएको चासो, चिन्ता र आलोचनालाई माया ठानेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक भविष्यको चिन्ताभन्दा देश र जनताले भरोसा गर्न सक्ने दलभित्रको लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन ध्यान दिन आग्रह गरेकी छिन्।

अन्त्यमा उनले नयाँ रास्वपामा नयाँ सम्भावनाहरू फस्टाउने वातावरण बनोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन्।