काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिन पाँचतारे होटलमा मनाउने भएका छन्।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा खेपिरहेका लामिछानेले पोखरास्थित पाँचतारे होटल ‘पोखरा ग्राण्डी’मा जन्मदिन मनाउने तयारी गरेका हुन्। उनीहरू उच्च अदालतमा तारिख बुझ्नका लागि आज बिहान बुद्ध एअरको उडान नम्बर बीएचए–१६५५ मार्फत पोखरा पुगेका थिए।

लामिछानेले जिल्ला प्रहरी कार्यालय कास्कीको थुनुवा विश्राम कक्ष अगाडि पत्नी निकितासँगै उभिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएका छन्। उनले गत वर्ष प्रहरीको निगरानीका कारण सीमित रूपमा जन्मदिन मनाउनुपरेको स्मरण गर्दै यसपटक त्यस्तो अवस्था नरहेको उल्लेख गरेका छन्।

पोखराको बिरौटा क्षेत्रमा रहेको होटल ग्राण्डीमा निकिता पौडेलको जन्मदिनका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ।

लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दाको अर्को पेशी माघ २९ गते तोकिएको छ। उनी गत वर्ष चैत २५ गतेदेखि कारागारमा रहेका थिए भने पुस ३ गते थुनामुक्त भएका हुन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई ‘अग्रिम जमानत’को विशेष सुविधाअन्तर्गत थुनामुक्त गर्ने आदेश दिएको थियो।