इलाम—नेकपा एमाले इलामले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर १ बाट तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
जिल्ला कमिटीको बैठकले पूर्व सांसद महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईलाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको हो।
सिफारिस सूचीमा रहेका महेश बस्नेत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। यसअघि उनी २०७४ सालमा इलाम नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।
यस्तै, काजीमान कागतेलाई पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारिएको छ। कागते २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईसँग पराजित भएका थिए। यसअघि २०७४ सालमा कागते इलाम क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
सिफारिस सूचीमा परेकी दुर्गादेवी भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बनेकी थिइन्। सो निर्वाचनमा उनी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुर्गाकुमार बरालसँग पराजित भएकी थिइन्।




















