काठमाडौँ— भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचलको सोलन जिल्लास्थित अर्की क्षेत्रमा सोमबार बिहान करिब साढे २ बजे भएको घटनामा उनीहरूको ज्यान गएको हो।
मृतकहरू सबै सल्यान जिल्लाको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा रहेको पुष्टि भएको छ। गाउँपालिका अध्यक्ष भरत गिरि र वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ति जारी गर्दै एउटै वडाका दुई परिवारका ९ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
घटनामा धनबहादुर विक र काशीराम विकका परिवारका सदस्यहरूको मृत्यु भएको हो। धनबहादुर विकको परिवारमा ३३ वर्षीय धनबहादुर, उनकी श्रीमती ३२ वर्षीया कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको ज्यान गएको छ।
त्यसैगरी ४७ वर्षीय काशीराम विकको परिवारमा उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको छ।
ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादुर शाहीका अनुसार आगलागीमा परी उनीहरूको मृत्यु भएको जानकारी प्रहरीलाई प्राप्त भएको छ। वडाका दुई परिवारका ९ सदस्यको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको वडासचिव कृष्ण चलाउनेले जानकारी दिए।
दुवै परिवार रोजगारीका लागि हिमाचलमा बसोबास गर्दै आएका थिए। हिमाचलमै रहेका काशीरामका भाइले घटनाबारे गाउँमा जानकारी गराएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटपछि एउटा घरमा लागेको आगो छेउछाउका घर तथा पसलहरूमा समेत फैलिएको थियो। वेबइन्डियाका अनुसार आगलागीबाट १५ भन्दा बढी पसलमा क्षति पुगेको छ।
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै हिमाचलमै काम गर्दै आएका भोला कुमारले आफ्ना चार आफन्तको मृत्यु भएको बताएका छन्। आगलागीपछि उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकले सबैलाई मृत घोषणा गरेको उनले बताएका छन्।




















